जलेश्वर, महोत्तरी — महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सडक दुर्घटना उद्धार अभ्यास (सिमुलेशन) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मधेस प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, ट्राफिक प्रहरी कार्यालय जलेश्वर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले गर्नुभएको थियो। नगर प्रमुख सुरेश शाह सोनार प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय कुमार शाह, गोरखनाथ गण प्रकौलीका प्रमुख सेनानी विनोद विकास पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेडक्वार्टर महोत्तरीका प्रहरी उपरीक्षक पुरण चन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक सुदीप अधिकारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशी, उद्योग वाणिज्य संघ महोत्तरी–जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरी, जिल्ला पत्रकार महासङ्घ महोत्तरी–जलेश्वरका अध्यक्ष महेश कुमार दास लगायत विभिन्न सरकारी तथा गैरसरकारी विद्यालय, संघसंस्था, पत्रकार, विद्यार्थी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

सडक दुर्घटनापछि तुरुन्तै आवश्यक उद्धार कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको उक्त अभ्यास कार्यक्रममा ट्राफिक जनचेतना, सुरक्षा उपाय, सवारी नियम र आकस्मिक व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो।

स्थानीय स्तरमै यस्तो किसिमको अभ्यास कार्यक्रमले जनमानसमा ट्राफिक सुरक्षाप्रति सचेतना बढाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेका छन्।