महोत्तरी, एकडारा। महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित भटौलिया स्वास्थ्य चौकीमा पछिल्लो समय बिरामीको उपचारभन्दा पनि अनुगमन र प्रशासनिक गतिविधि बढी चर्चाको विषय बनेको छ।
स्वास्थ्य चौकीमा कर्मचारीहरूको दैनिक उपस्थितिको मुख्य प्रमाण मानिने उपस्थिति रजिस्टर अचानक गायब भएपछि कर्मचारीहरू हाल कागजमा अस्थायी रूपमा हाजिरी गर्न बाध्य भएका छन्।
स्वास्थ्य चौकी प्रमुखका अनुसार हराएको रजिस्टरको खोजबिन भइरहेको छ। रजिस्टर कसरी र कहिले हरायो भन्ने विषयमा अनुसन्धान जारी रहेको र आवश्यक जानकारी सम्बन्धित निकायलाई पनि गराइएको उनले बताए।
रजिस्टर हराएपछि कर्मचारीहरूको नियमित उपस्थितिको अभिलेख व्यवस्थापनमा समस्या देखिएको छ। यस घटनाले स्वास्थ्य संस्थाको प्रशासनिक व्यवस्थापन र अभिलेख सुरक्षामाथि समेत प्रश्न उठाएको छ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा र अभिलेख व्यवस्थापनमा सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।