महोत्तरी — जलेश्वर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको स्थानीय तह घोषणा गरिएको छ। जलेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार, २०८३ असोज १६ गते आयोजित कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो।

कार्यक्रममा नगर क्षेत्रका कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित हुन नदिन छुटेका बालबालिकाको पहिचान, नियमित खोप सेवाको निरन्तरता र पहुँच विस्तारमा जोड दिइएको थियो।

नगर प्रमुख सुरेश शाह सोनार, जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुमन कुमार लाल कर्ण, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर साह, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।

जलेश्वर नगरपालिकाले पूर्ण खोपको उपलब्धिलाई आगामी दिनमा समेत कायम राख्ने प्रतिबद्धता जनाएको छ।