महोत्तरीको रामगोपालपुर चौकमा प्रहरीले ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउन कडाइका साथ सवारीसाधन चेकजाँच गरेको छ।
प्र.स.नि. संजय कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले रामगोपालपुर चौकमा मोटरसाइकल, बस, ट्र्याक्टरलगायत विभिन्न सवारीसाधन रोकेर चेकजाँच गरेको हो। चेकजाँचका क्रममा चालकले मादक पदार्थ सेवन गरेको अवस्था, हेल्मेटको प्रयोग, चालक अनुमतिपत्र, सिटबेल्ट तथा सवारीसाधनसम्बन्धी आवश्यक कागजातलगायतका विषयमा विशेष निगरानी गरिएको थियो।
विशेषगरी मोटरसाइकल चालकले अनिवार्य रूपमा हेल्मेट प्रयोग गरे–नगरेको, चालक अनुमतिपत्र साथमा राखे–नराखेको तथा सवारी चलाउँदा ट्राफिक नियम पालना गरे–नगरेको विषयमा प्रहरीले जाँच गरेको थियो। त्यस्तै, बस तथा अन्य चारपांग्रे सवारीसाधनका चालक र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सिटबेल्टको प्रयोग तथा आवश्यक कागजातसमेत जाँच गरिएको थियो।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन सचेत गराएको छ। ट्राफिक नियमको पालना गराउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सडकमा सुरक्षित यातायात व्यवस्था कायम गर्ने उद्देश्यले चेकजाँचलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ।
रामगोपालपुर चौकमा गरिएको यस्तो नियमित तथा कडाइपूर्ण चेकजाँचले सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। प्रहरीले पनि नियम उल्लंघन गर्ने चालकलाई कानुनअनुसार कारबाही गर्दै सडक सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ।