जनकपुरधाम । मधेस प्रदेश सरकार र सशस्त्र प्रहरी बल, नेपालबीच प्रदेशको शान्ति–सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयमा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षकको परिचयात्मक तथा समीक्षात्मक भ्रमणका क्रममा प्रदेश सरकार र सशस्त्र प्रहरीबीच सुरक्षा व्यवस्थापनका विभिन्न पक्षमा गहन छलफल भएको हो।
कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले मधेस प्रदेशको भौगोलिक अवस्था, खुला सीमा, घना बस्ती तथा बाढी, डुबानलगायतका प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मन्त्री महतोले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा, विपद्को समयमा उद्धार तथा राहत र आपत्कालीन अवस्थामा तत्काल परिचालनका लागि प्रदेश सरकार र सशस्त्र प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
उनले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै आवश्यक स्रोतसाधन र पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सवारी साधनसहित आवश्यक पूर्वाधार सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
छलफलका क्रममा मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती, सीमा व्यवस्थापनमा देखिएका समस्या, विपद् प्रतिकार्यका लागि आवश्यक तयारी तथा सुरक्षा निकायको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा समेत विचार–विमर्श भएको थियो।


विशेषगरी मधेस प्रदेशमा भारतसँग जोडिएको लामो खुला सीमाका कारण सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायबीच प्रभावकारी सूचना आदान–प्रदान र संयुक्त समन्वयलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको छ।
त्यस्तै, वर्षायाममा बाढी तथा डुबानबाट प्रभावित हुने क्षेत्रमा विपद् आउनुअघि नै आवश्यक तयारी, उद्धार सामग्रीको व्यवस्थापन, जनशक्तिको परिचालन तथा स्थानीय तहसँगको समन्वयलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
कार्यक्रममा सहभागी अधिकारीहरूले सुरक्षा व्यवस्थापनलाई केवल घटना भएपछि प्रतिक्रिया दिनेभन्दा पनि जोखिमको पूर्वपहिचान, पूर्वतयारी र तत्काल प्रतिकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रदेश सरकार र सशस्त्र प्रहरीबीच भएको उक्त छलफलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।