सर्लाही — मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही क्षेत्र नं. ४(ख) अन्तर्गत बलरा नगरपालिका र गोडैता नगरपालिकामा भेटघाट तथा जनगुनासो सुनुवाइ कार्यक्रम गर्नुभएको छ।

कार्यक्रमका क्रममा मन्त्री महतोले स्थानीय नागरिक, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीयस्तरमा देखिएका समस्या, विकास निर्माण, शान्ति–सुरक्षा, सञ्चार तथा कानुनी विषयसँग सम्बन्धित गुनासोहरू सुन्नुभएको थियो।

स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सुरक्षा लगायतका विषयमा आफ्ना समस्या तथा मागहरू मन्त्रीसमक्ष राखेका थिए। मन्त्री महतोले प्राप्त गुनासो तथा सुझावलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री महतोले जनताको प्रत्यक्ष सहभागिता र गुनासो सुन्ने प्रक्रियाले सरकार र नागरिकबीचको सम्बन्ध अझ मजबुत हुने बताउँदै स्थानीय समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।