महोत्तरी। सुनसरीमा भएको घटनापछि देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्रीको पदचाप पछ्याउँदै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले मधेस प्रदेशका विभिन्न जिल्लामा सुरक्षा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको छ।

अनुगमनका क्रममा उहाँले बर्दिबास, जनकपुर, मटिहानी, सम्सी लगायतका क्षेत्रमा पुगेर जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कार्यालय प्रमुख, बिओपी सम्सीमा कार्यरत सकल दर्जाका सुरक्षाकर्मी तथा सम्बन्धित निकायका पदाधिकारीहरूसँग सुरक्षा अवस्था, सीमा सुरक्षा, सूचना आदान–प्रदान तथा अन्तरनिकाय समन्वयका विषयमा विस्तृत छलफल गर्नुभएको थियो। सो अवसरमा उहाँले शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सम्भावित संवेदनशील गतिविधिप्रति उच्च सतर्कता अपनाउन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक निर्देशन दिनुभयो।

त्यसपश्चात् महोत्तरीको गौशालामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतोसहित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूसँग उहाँले छलफल गर्नुभयो।

छलफलका क्रममा एआईजी ठाडा मगरले महोत्तरी, विशेषगरी ऐतिहासिक एवं धार्मिक नगरी मटिहानी, प्राचीनकालदेखि नै शिक्षा, संस्कृत, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको अनुपम केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्नुभयो। मटिहानीको गौरवशाली इतिहास, धार्मिक महत्त्व र विभिन्न समुदायबीचको सौहार्दपूर्ण सम्बन्ध सम्पूर्ण मधेसकै पहिचान भएको उल्लेख गर्दै उहाँले कुनै पनि अफवाह, उक्साहट वा सामाजिक सद्भाव बिथोल्ने गतिविधिको प्रभावमा नपर्न सबै पक्षसँग आग्रह गर्नुभयो।

उहाँले महोत्तरीमा पुस्तौंदेखि कायम रहँदै आएको सामाजिक एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको संस्कृतिलाई अझ सुदृढ बनाउँदै त्यसको सकारात्मक सन्देश सम्पूर्ण मधेस प्रदेश र देशभर फैलाउन स्थानीय समुदाय, जनप्रतिनिधि, नागरिक समाज तथा सुरक्षा निकायको साझा भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

एआईजी ठाडा मगरले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै कानुनको शासन, सामाजिक एकता र नागरिक सुरक्षाको संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।