जनकपुरधाम। जनकपुरधामका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारीसाधन तथा चालकको कडाइका साथ चेकजाँच गरेको छ। प्र.ना.नी. विजय राईको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीको टोलीले सडकमा गुडिरहेका सवारीसाधनलाई रोकेर आवश्यक कागजात तथा सुरक्षा मापदण्डको जाँच गरेको हो।

चेकजाँचका क्रममा विशेषगरी मादक पदार्थ सेवन (मापसे), हेल्मेटको प्रयोग, चालक अनुमतिपत्र, सिटबेल्ट लगायतका विषयमा निगरानी गरिएको छ। दुईपाङ्ग्रे सवारी चालकले हेल्मेट लगाए/नलगाएको तथा चारपाङ्ग्रे सवारीका चालक र यात्रुले सिटबेल्ट प्रयोग गरे/नगरेको विषयमा समेत प्रहरीले जाँच गरेको थियो।

त्यसैगरी सवारी चालकसँग चालक अनुमतिपत्र तथा आवश्यक कागजात भए/नभएको समेत परीक्षण गरिएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकका कारण सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले मापसे जाँचलाई समेत प्राथमिकतामा राखिएको छ।

जनकपुरधाममा सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक नियम उल्लंघनका घटना नियन्त्रण गर्न प्रहरीले नियमित रूपमा चेकजाँच गर्दै आएको छ। ट्राफिक प्रहरीको यस्तो निगरानीले चालकलाई नियम पालना गर्न सचेत बनाउनुका साथै सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न तथा चारपाङ्ग्रे सवारीमा सिटबेल्ट लगाउन आग्रह गरेको छ। साथै, चालक अनुमतिपत्र तथा सवारीसम्बन्धी आवश्यक कागजात साथमा राखेर मात्र सवारी सञ्चालन गर्न पनि प्रहरीले अनुरोध गरेको छ।