महोत्तरी, जलेश्वर — जिल्ला हुलाक कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा आज मिति २०८२ साल जेष्ठ २८ गते “नागरिकसँग हुलाक सेवा” विषयक जिल्ला स्तरीय अन्तरक्रिया तथा प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कार्यालयका प्रमुख श्री रामचन्द्र शाहले गर्नुभएको थियो। कार्यक्रममा कार्यालय अन्तर्गतका विभिन्न हुलाक कार्यालयहरूका प्रमुख, प्रतिनिधि, पत्रवितरक, डाँक कर्मचारीहरू, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा हुलाक सेवाका परम्परागत प्रणालीलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने, हुलाक वस्तुहरूलाई सहज रूपमा सेवा प्रवाह गर्ने उपायहरू, हुलाक सेवामा नागरिकको विश्वास अभिवृद्धि गर्ने उपायहरू, र “घर-घरमा हुलाक सेवा” को पहिचान कसरी गराउने भन्ने विषयमा गहिरो अन्तरक्रिया गरिएको थियो।

साथै, नगर परिक्रमा गर्दै नागरिकहरूलाई प्रत्यक्ष रूपमा हुलाक सेवाको जानकारी दिने उद्देश्यले प्रचार-प्रसार कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी सबै पक्षले हुलाक सेवालाई सशक्त, भरपर्दो र जनमैत्री बनाउन समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।