जलेश्वर, महोत्तरी – असार १०
यातायात व्यवस्था कार्यालय बर्दिबास, महोत्तरीको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाको समन्वयमा “यातायात सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम २०८२” जिल्ला समन्वय समितिको सभा हल, जलेश्वरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राजकिशोर शाहले गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन कुमार लाल कर्ण प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सोनार, श्रम तथा रोजगार मन्त्रालय मधेस प्रदेशका सचिव युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (SP) हेरम्ब शर्मा, र राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका चन्दन झा लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ताहरूले बढ्दो सडक दुर्घटना, ट्राफिक नियमको उल्लंघन, हेलमेट तथा सीटबेल्ट प्रयोग नगर्ने प्रवृत्तिलगायत समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै, ट्राफिक सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

कार्यक्रममा प्रमुख राजकिशोर शाहले भने, “सडक दुर्घटनाबाट जोगिन नागरिक तहमै सचेतना फैलाउनु अत्यावश्यक छ। ट्राफिक नियमको पालनाले मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”
त्यसैगरी, प्रमुख अतिथि सुमन कुमार लाल कर्णले स्थानीय निकाय, प्रहरी प्रशासन, यातायात कार्यालय र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागिहरूलाई पावरपोइन्ट प्रस्तुति, भिडियो क्लिपमार्फत सडक सुरक्षा सम्बन्धी सन्देशहरू प्रस्तुत गरियो। कार्यक्रमले सहभागीहरूमा ट्राफिक नियमको पालना गर्ने संस्कार विकासमा टेवा पुर्याउने अपेक्षा गरिएक छ।