महोत्तरी — वलवा नगरपालिका–४ परौलमा “प्रहरी हुँ” भन्दै सर्वसाधारणलाई धम्क्याउँदै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति सोही स्थानका २९ वर्षिय कृष्ण कुमार महतो हुन्। उनलाई बिहीबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार महतो आफैँलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी भन्दै स्थानीयवासीहरुलाई धम्की दिँदै आएका थिए।

उनको यस्तो गतिविधिबारे सूचनापछि खोजतलास गरिएको र अन्ततः पक्राउ गरी आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको प्रहरीले बताएको छ।

महतोमाथि अहिले अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।