महोत्तरी, ३ असोज
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण कार्य धमाधम भइरहेको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा एकीकृत ग्रामीण विकास समाज, महोत्तरीले ट्यांकी निर्माणको काम अघि बढाएको हो ।

खानेपानी तथा सरसफाईको दीर्घकालीन व्यवस्थाका लागि ट्यांकीले स्थानीयलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । पछिल्लो समय मधेशमा लगातार परेको खडेरीका कारण जनजीवन प्रभावित भएको अवस्थामा यो योजना सर्वसाधारणका लागि सहज बन्ने विश्वास लिइएको छ ।

संस्थाका कोषाध्यक्ष उमेश न्यौपानेका अनुसार एकडाराको वडा नं. ३ भटोलिया, वडा नं. ४ हलखोरी र चकवा टोलमा २ वटा, साथै सम्सीको वडा नं. ५ संग्रामपुर र वडा नं. ६ इदगा टोलमा १–१ गरी जम्मा ५ स्थानमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ ।

प्रत्येक ट्यांकी ५ हजार लिटर क्षमताको हुनेछ भने ४ वटा धारा तथा कपडा धुन प्लेटफर्मसमेत रहनेछन् । साथै, सम्सी गाउँपालिकाको वडा नं. ५ संग्रामपुरमा ४ इन्चको बोरिङ जडान गरिने योजना पनि छ, जसले खानेपानी आपूर्तिको संकट भोगिरहेका स्थानीयलाई सहजता दिनेछ ।

नेपाल सरकारले मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपछि खानेपानीको समस्या न्यूनीकरणका लागि बोरिङ तथा खानेपानी ट्यांकी निर्माण कार्यलाई प्राथमिकतामा राखिएको संस्थाका कोषाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।