महोत्तरी — जलेश्वर नगरपालिका वडा नं. ३ स्थित मलिवारा बसस्ट्यान्डमा विवाह पञ्चमीको भीडभाडकै बीच दिनदहाडै चोरीको घटना भएको छ। जनकपुरधाम जाँदै गरेका एक यात्रुको झोला बसकै खलासीले चोरी गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बिहारको बेतिया–रक्सौल क्षेत्रका राजेश शाह नामक यात्रु विवाह पञ्चमीको मुख्य दिन जनकपुरधामतर्फ जाने तयारीमा थिए। यतिबेला एक सार्वजनिक बसका खलासीले शाहको साथमा रहेको झोलामा हात हालेर रु ७,००० रकम राखिएको ब्याग खोसेर भाग्न खोजेको स्थानीयले देखेपछि खलासीलाई तत्काल समातेर प्रहरीलाई बुझाइएकाे हो।

स्थानीयको सक्रियता र सहयोगका कारण आरोपी फरार हुन नपाउँदै नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खलासीले यात्रुको ध्यान अन्यत्र मोडिएको फाइदा उठाउँदै झोला निकाल्ने प्रयास गरेकाे बुझिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ। यसरी भीडभाडका बेला हुने चोरी र ठगीका घटनाबाट सचेत रहन प्रहरीले यात्रुलाई आग्रह समेत गरेको छ।

घटनाले विवाह पञ्चमीमा जनकपुर जाने यात्रुहरूको सुरक्षा व्यवस्थामा थप कडाई आवश्यक रहेको स्थानीयको टिप्पणी छ।