जनकपुरधाम — नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष त्रिभुवन पाठकको आज जनकपुर विमानस्थलमा कार्यकर्ताहरूले अत्यन्तै भव्य स्वागत गरेका छन्।

आज बिहान विशेष कार्यक्रममा सहभागी हुन जनकपुर आएका अध्यक्ष पाठकलाई पार्टीका नेताकार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले फूलमाला, अबिर र नाराबाजीसहित जोरदार स्वागत गरेका हुन्। विमानस्थल परिसरमा ठूलो भीड जुटेको थियो भने कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानरसहित स्वागत प्रदर्शन गरेका थिए।

स्वागतपछि अध्यक्ष पाठकले संक्षिप्त सम्बोधन गर्दै पार्टी सुदृढीकरण, संगठन विस्तार र जनताका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाइने प्रतिबद्धता जनाए। उनले मधेश तथा देशभरका जनताले देखाएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिज्ञा समेत गरे।

उनको आगमनसँगै जनकपुरमा पार्टी कार्यकर्ताहरूमा उत्साह थपिएको जनाइएको छ। अध्यक्ष पाठक आज जनकपुरमा विभिन्न भेटघाट तथा संगठनात्मक कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।