जनकपुरधाम । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत् जारी सन्देशमा डीआईजी थपलियाले पछिल्लो समय केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै द्वेषपूर्ण, भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको पाइएको उल्लेख गर्दै यसले समाजमा अशान्ति फैलिन सक्ने खतरा रहेको बताए।

मिथिला टेलिभिजन को पत्रकार रोशन कुमार मिश्र संगको कुराकानीमा उनले सामाजिक मर्यादा र सार्वजनिक शान्ति–सुव्यवस्थामा असर पर्ने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारे। सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत उनले दिए।

डीआईजी थपलियाले विशेष गरी तराई–मधेशका केही जिल्लामा देखिएको सामाजिक सञ्जालको दुरुपयोगप्रति सचेत रहन आग्रह गर्दै सबै नागरिकलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन अनुरोध गरेका छन्। समाजमा आपसी विश्वास, सहअस्तित्व र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ।