जलेश्वर। जलेश्वर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक जलेश्वरनाथ महादेव मन्दिरमा आयोजना हुने महाशिवरात्री मेला–महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

मिति २०८२/१०/२५ गते आइतबार, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार को उपस्थितिमा सम्पन्न बैठकले मेला व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रमहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकमा विशिष्ट अतिथि, अतिथि, सुरक्षा निकाय, स्थानीयवासी, व्यापारी, मेला व्यवस्थापन समितिका सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

सरसफाइदेखि दर्शन व्यवस्थासम्मको तयारी,
निर्णयअनुसार मिति २०८२/११/०१ गते शुक्रबार बिहान ७ः३० बजेदेखि जलेश्वरनाथ महादेव मन्दिर परिसर तथा आसपास क्षेत्रमा वृहद सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सरसफाइमा जलेश्वर नगरपालिका, सुरक्षा निकाय, पूजा समिति तथा स्थानीयवासीको सहभागिता रहनेछ।

त्यसैगरी २०८२/११/०२ गते शनिबार जलेश्वरनाथ महादेव मन्दिरबाट कलश यात्रा निकालेर नगर परिक्रमा गरिनेछ। उक्त अवसरमा नेपाली सेना तथा सशस्त्र प्रहरीको समन्वयमा पञ्चेबाजाको व्यवस्था गरिने जनाइएको छ।

जल निकास र पसल बन्द,
महाशिवरात्रीको अवसरमा मिति २०८२/११/०२ गते राति २२:०० बजेदेखि २०८२/११/०३ गते राति २२:०० बजेसम्म नेपाली सेना तथा सशस्त्र प्रहरीमार्फत पालो–पालो गरी मन्दिरबाट जल निकास गरिनेछ।

साथै धार्मिक मर्यादा कायम गर्न २०८२/११/०२ र ११/०३ गते जलेश्वर नगरपालिकाभरिका माछा, मासु तथा मदिरा पसल बन्द गरिने निर्णय गरिएको छ।
दर्शन, पार्किङ र स्वयंसेवक व्यवस्था
मिति २०८२/११/०३ गते आइतबार बिहान १ः०० बजे जल निकास सम्पन्न भएपछि समितिले तयार गरेको रुटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनमार्फत दर्शन व्यवस्था गरिनेछ। विशिष्ट अतिथिका लागि भने वैकल्पिक रुटको व्यवस्था गरिनेछ।

सवारी साधनको चाप व्यवस्थापन गर्न वडा नं. १ स्थित पगलाबाबा धर्मशालाअगाडिको खाली स्थान तथा वडा नं. २ स्थित रंगशाला पार्किङ स्थलका रूपमा प्रयोग गरिनेछ।
मेलाको सफल सञ्चालनका लागि स्थानीय युवा, NCC तालिम प्राप्त व्यक्ति तथा विद्यालयका विद्यार्थीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने जनाइएको छ।

नगर प्रमुख सुरेश साह सोनारले महाशिवरात्री मेला धार्मिक आस्थासँगै सामाजिक एकता र पहिचानसँग जोडिएको भन्दै सबै पक्षको सहयोगमा मेला सफल बनाइने विश्वास व्यक्त गर्नुभयो।