महोत्तरी — आउँदो २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जलेश्वर नगरपालिका वडा नं. ७ अन्तर्गत रातो पुल बखरी नजिक तथा बखरी चौक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सुरक्षा निकायहरूले संयुक्त रूपमा गस्ती र चेकजाँच अभियान सञ्चालन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर टीका राज बरालको कमाण्डमा २४ जना प्रहरी टोली खटिएको छ। उक्त टोलीसँगै नेपाल प्रहरी, नेपाल आर्मी (उपसेनानी पुनम तामाङको नेतृत्वमा), नेपाल सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी तथा ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहेको छ।

संयुक्त टोलीले सवारी साधनहरूलाई रोकी मापसे (मादक पदार्थ सेवन), सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लु बुक लगायत आवश्यक कागजातहरूको जाँच गरिरहेको छ। बस, कार, ट्रेक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा विशेष निगरानी राखिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायका अनुसार निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न, मतदातालाई निर्भीक वातावरणमा मतदान गर्ने अवसर दिन तथा कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन यस्तो कडाइ गरिएको हो। स्थानीयवासीहरूले पनि सुरक्षा सतर्कता बढाइएकामा सकारात्मक प्रतिक्रिया दिएका छन्।
प्रहरीले निर्वाचन अवधिभर नियमित गस्ती र चेकजाँच जारी रहने जानकारी दिएको छ।