महोत्तरी, १६ बैशाख २०८३ महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. २ स्थित श्री मधेपुरा राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सार्वजनिक/नागरिक सुनुवाई कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा आयोजित उक्त कार्यक्रम दिउँसो ३:०० बजे सुरु भई साँझ ५:३० बजे समापन भएको हो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा उप-प्रमुख शरिता शर्मा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका प्रमुख शेर बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका उप-अनुसन्धान निर्देशक चन्दन कुमार झा, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्की लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सीमा क्षेत्रमा हुने गतिविधि, लागुऔषध नियन्त्रण, महिला तथा बालबालिका सुरक्षाजस्ता विविध विषयमा आफ्ना गुनासा, जिज्ञासा र सुझाव राखेका थिए।
नागरिकहरूले विशेष गरी चोरी, झै-झगडा, घरेलु हिंसा, लागूऔषध दुव्र्यसन, सवारी दुर्घटना तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप कडाइ गर्नुपर्ने माग राखेका थिए। यसका साथै प्रहरीले सेवाग्राहीमैत्री व्यवहार अपनाउनुपर्ने, समयमै न्याय दिनुपर्ने र गाउँ–टोलमा नियमित गस्ती बढाउनुपर्ने माग पनि उठाइएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिइने बताउँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न प्रशासन सधैं प्रतिबद्ध रहेको र नागरिक–प्रहरी सहकार्य अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।

त्यसैगरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले प्रहरी सेवा जनमैत्री बनाउने दिशामा आफूहरू क्रियाशील रहेको बताउँदै नागरिकको सहयोग बिना शान्ति सुरक्षा सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ सशक्त बनाउँदै अपराध नियन्त्रणमा कडाइ गरिने जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शैलेन्द्र कुमार यादवले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउँदै नागरिकका समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

समग्रमा कार्यक्रमले नागरिक र सुरक्षा निकायबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्दै आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको थियो।