महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ स्थित श्री राष्ट्रिय आधारभुत (०-८) विद्यालय धबौली मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जलेश्वर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष रविन्द्र प्रसाद शाह को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा जलेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्मा सहभागी हुनुभएको थियो।

त्यसैगरी कार्यक्रममा प्र.स.नि शोहन प्रसाद यादव, राजु शाह, आधारभुत स्वास्थ्य केन्द्र शुरियही का प्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविका, सचिव अजय शर्मा लगायत करिब ३० जनाको उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणालीको महत्व, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले समुदाय स्तरमै रोगको निगरानी प्रभावकारी बनाउन सके महामारी तथा संक्रामक रोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथि संजय कुमार शर्मा ले समुदायको सक्रिय सहभागिताविना स्वास्थ्य क्षेत्रको सुधार सम्भव नरहेको बताउँदै रोग नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष रविन्द्र प्रसाद शाह ले वडा स्तरमा यस्ता सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रमले नागरिकमा स्वास्थ्यप्रति जिम्मेवारी भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा स्वास्थ्य निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझावसमेत दिएका थिए।