महोत्तरी, मटिहानी — महोत्तरीको मटिहानी नाका–२ स्थित नेपाल–भारत सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका जवानहरू अत्यन्त कठिन परिस्थितिमा सीमा सुरक्षा गर्न बाध्य बनेका छन्। भीषण गर्मी होस् वा लगातार वर्षा, सीमामा खटिएका प्रहरीहरूका लागि सामान्य ओत लाग्ने छानासमेत नहुँदा उनीहरूले खुला आकाशमुनि उभिएरै ड्युटी गर्नुपरेको अवस्था रहेको छ।
स्थानीय स्रोतका अनुसार मधवापुर र मटिहानी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी चौबीसै घण्टा निगरानीमा खटिने गरेका छन्। तर सीमामा आवश्यक भौतिक पूर्वाधार तथा आधारभूत सुविधा नहुँदा सुरक्षाकर्मीहरू समस्यामा परेका छन्। गर्मीमा चर्को घाम र वर्षाको समयमा भिज्दै ड्युटी गर्नुपर्दा प्रहरीको स्वास्थ्यमा समेत असर पर्ने जोखिम बढेको बताइएको छ। स्थानीयवासीहरूले राष्ट्रको सुरक्षाका लागि दिनरात खटिने सुरक्षाकर्मीहरूको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सीमाक्षेत्रमा कम्तीमा अस्थायी छाना, बस्ने स्थान, पिउने पानी तथा अन्य आधारभूत सुविधा तत्काल व्यवस्थापन गर्न माग गरेका छन्।
स्थानीयको भनाइमा, “देशको सुरक्षा गर्ने प्रहरी आफैं असुरक्षित र कठिन अवस्थामा बस्न बाध्य हुनु दुःखद कुरा हो। राज्यले सीमामा खटिने सुरक्षाकर्मीको मनोबल बढ्ने गरी आवश्यक व्यवस्था गर्नुपर्छ।” कठिन परिस्थिति हुँदाहुँदै पनि सशस्त्र प्रहरी बलले सीमाक्षेत्रमा सुरक्षा निगरानीलाई निरन्तरता दिइरहेको छ। सीमाको सुरक्षा र जनताको हितलाई प्राथमिकतामा राखेर प्रहरीहरू निरन्तर खटिनु प्रशंसनीय रहेको स्थानीयले बताएका छन्।