जेष्ठ ११, महोत्तरी। जलेश्वर नगरपालिका स्वास्थ्य शाखा महोत्तरीको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोपबाट बचाउन सकिने रोगहरूको खोजपडताल तथा निगरानी (संक्रमणकालीन पोलियो योजना) २०७९–८६ कार्यान्वयन सम्बन्धी एकदिने अभिमुखीकरण तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ।

जलेश्वर नगरपालिका सभाहलमा आयोजित कार्यक्रम प्रमुुख प्रसासकिय अधिकृत प्रकाश शर्मा ढकाल को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगरभित्र रहेका स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी , संघ संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकालाई खोपको पहुँच सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको उल्लेख गर्दै खोपबाट बचाउन सकिने रोगहरूको समयमै पहिचान र निगरानीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालित गतिविधि, संक्रमणकालीन पोलियो निगरानी तथा खोप बाट बचाउन सकिने रोग खोजपडताल निगरानी सम्बन्धी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। उहाँले खोपबाट बचाउन सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रत्येक स्वास्थ्य संस्थाले सक्रिय रूपमा निगरानी तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरी का खोप शाखा प्रमुख राम बाबु यादव ले जिल्लामा खोप कार्यक्रमको वर्तमान अवस्था, चुनौती तथा आगामी रणनीतिबारे प्रकाश पार्नुभएको थियो। उहाँले नियमित खोप सेवा प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

त्यसैगरी WHO/IPD Field Office का प्रमुख डा. नितेश कुमार मिश्र ले संक्रमणकालीन पोलियो निगरानी प्रणाली, रोग पहिचान प्रक्रिया तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमका फोकल पर्सन जनस्वास्थ्य अधिकृत राम लला ठाकुरले स्वास्थ्य संस्थाबाट नियमित तथ्यांक संकलन, खोप बाट बचाउन सकिने रोगको निगरानी रिपोर्टिङ समयमै गर्ने तथा समुदायस्तरसम्म यस बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहले आवश्यक सहयोग, जनचेतना तथा नियमित अनुगमन बढाउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रम अन्त्यमा सहभागीहरूले खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण, संक्रमणकालीन पोलियो उन्मूलन तथा जनस्वास्थ्य सुरक्षाका लागि समन्वयात्मक रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।