महोत्तरी, सम्सी- उपचारको आवश्यकता हुँदाहुँदै आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका सीमावर्ती क्षेत्रका सयौं नागरिकले शनिबार आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकको सेवा पाएका छन्। महोत्तरीको सम्सीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सीमावर्ती बासिन्दा प्रत्यक्ष लाभान्वित भएका हुन्।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २५औँ वार्षिकोत्सवको अवसरमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा सशस्त्र प्रहरीका चिकित्सकसहित विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

शिविरमा हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग, दन्तरोग, चर्मरोग तथा जनरल मेडिसिनसम्बन्धी निःशुल्क परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न, ज्येष्ठ नागरिक तथा महिलाहरूले शिविरबाट विशेष लाभ लिएको स्थानीयवासीले बताएका छन्। ग्रामीण तथा सीमावर्ती क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।