जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका द्वारा आयोजित तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल को प्राविधिक सहयोगमा जलेश्वरस्थित श्री महेन्द्र आदर्श महिला (कन्या ) माध्यमिक विद्यालयमा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क जाँच तथा शल्यक्रियाका लागि छनोट शिविर सम्पन्न भएको छ।

मिति २०८३ जेठ २८ गते सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले महिलाहरूको प्रजनन स्वास्थ्य परीक्षण गरेको थियो भने पाठेघर को मुख को क्यान्सर को जाच गरेको थियो। शिविरमा विशेषगरी पाठेघर तथा आङ खस्ने समस्याबाट पीडित महिलाहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको जलेश्वर नगरपालिकाले जनाएको छ।

शिविरमा सहभागी महिलाहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो भने पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरूलाई रिङ पेसरी सेवा समेत उपलब्ध गराइएको थियो। ग्रामीण तथा विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले महिलाहरूको प्रजनन स्वास्थ्य सुधार तथा समयमै उपचारमा पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ रहेको छ।