महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने पिपरा–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरी बल नेपाल जलेश्वरको टोलीले विशेष सुरक्षा चेकजाँच अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत बस, ट्रक तथा अन्य ठूला सवारी साधनहरूलाई रोकी कडाइका साथ जाँच गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्र नजिक पर्ने यस सडकखण्डमा अवैध सामानको ओसारपसार, राजस्व छलि तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नियमित निगरानी र चेकजाँचलाई तीव्र बनाइएको हो। चेकजाँचका क्रममा सवारी साधनका आवश्यक कागजात, चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्र तथा ढुवानी गरिएका सामानहरूको समेत निरीक्षण गरिएको थियो।

प्रहरी टोलीले शंकास्पद देखिएका सवारी साधनहरूमा विशेष निगरानी राख्दै यात्रु तथा चालकसँग आवश्यक सोधपुछ समेत गरेको जनाएको छ। केही समयका लागि सडकमा सवारीको चाप बढे पनि सुरक्षा जाँचलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको प्रहरी स्रोतले जनाएको छ।

स्थानीयवासीहरूले सुरक्षा निकायको यस्तो सक्रियताले चोरी–तस्करी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सुरक्षा निकायले आगामी दिनमा पनि सीमा क्षेत्र तथा मुख्य सडकहरूमा यस्ता विशेष चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ।

यस अभियानले जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनुका साथै कानुनको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।