महोत्तरी, असार ४- जलेश्वर नगरपालिका स्वास्थ्य शाखा, महोत्तरीको आयोजनामा जलेश्वर उद्योग वाणिज्य सङ्घको सभा हलमा क्षयरोग (टीबी) का जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपडतालका लागि सञ्चालन गरिने निःशुल्क AI Portabal Digital एक्स–रे शिविर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जलेश्वर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम छबिला यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षयरोग नियन्त्रण तथा समुदायस्तरमा समयमै रोग पहिचान गरी क्षयरोग उपचारमा पहुँच बढाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा जलेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्मा, जनस्वास्थ्य अधिकृत रामलाल ठाकुर लगायत वडा अध्यक्ष स्वास्थ्यकर्मी सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले निःशुल्क एक्स–रे शिविरमार्फत जोखिममा रहेका नागरिकको समयमै क्षयरोग पहिचान गरी प्रभावकारी उपचारमा जोड्ने विश्वास व्यक्त गरेका थिए।