महोत्तरीको जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा किशोर–किशोरी स्वास्थ्य कार्यक्रमअन्तर्गत किशोर–किशोरी स्वास्थ्य सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जलेश्वर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा किशोर–किशोरीहरूको स्वास्थ्य अवस्था सुधार, स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि तथा स्वास्थ्य संस्थाबाट उपलब्ध सेवाबारे जानकारी गराउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा किशोर–किशोरीको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्य, पोषण, व्यक्तिगत सरसफाइ, महिनावारी व्यवस्थापन, लागुऔषध तथा दुर्व्यसनबाट बच्ने उपाय, स्वास्थ्य संस्थामा उपलब्ध किशोरमैत्री सेवाको उपयोग लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, किशोर–किशोरीहरूले स्वास्थ्यसँग सम्बन्धित समस्या लुकाएर नराखी स्वास्थ्यकर्मीसँग खुला रूपमा परामर्श लिनुपर्नेमा विशेष जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जलेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्माले किशोरावस्था जीवनको अत्यन्त संवेदनशील चरण भएकाले यस अवधिमा सही स्वास्थ्य शिक्षा, उचित परामर्श र सकारात्मक मार्गदर्शन आवश्यक रहेको बताउनुभयो। उहाँले किशोर–किशोरीलाई स्वस्थ, सचेत र जिम्मेवार नागरिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी जनस्वास्थ्य अधिकृत रामलाला ठाकुरले जलेश्वर नगरपालिकाले सञ्चालन गरिरहेको किशोरमैत्री स्वास्थ्य सेवाबारे जानकारी गराउँदै आवश्यक पर्दा निर्धक्क भएर स्वास्थ्य संस्थामा पुगेर सेवा लिन सबै किशोर–किशोरीलाई आग्रह गर्नुभयो।

उहाँले आगामी दिनमा किशोर–किशोरीमैत्री सेवाको गुणस्तर मूल्याङ्कनलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै, सेवा अनुभूति मूल्याङ्कनमा कुनै स्वास्थ्य संस्थाले ९० वा सोभन्दा बढी अंक प्राप्त गरेमा उक्त संस्थालाई “किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणपत्र” प्रदान गरिने व्यवस्था रहेको बताउनुभयो। यसले स्वास्थ्य संस्थाहरूलाई किशोर–किशोरीमैत्री सेवा अझ गुणस्तरीय बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा ठूलो संख्यामा किशोर–किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट स्वास्थ्यसम्बन्धी धेरै उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार आगामी दिनमा पनि किशोर–किशोरी लक्षित यस्ता सचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ।