महोत्तरी को बलबा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आफ्नो स्वच्छ, हराभरा र व्यवस्थित वातावरणका कारण पछिल्लो समय स्थानीयवासी तथा सेवाग्राहीहरूको आकर्षणको केन्द्र बनेको छ।

सुरक्षा सेवा प्रदान गर्ने जिम्मेवारीसँगै कार्यालय परिसरको सरसफाइ, हरियाली र वातावरण संरक्षणमा पनि विशेष ध्यान दिइएको देखिन्छ।

कार्यालय परिसरमा प्रवेश गर्नेबित्तिकै सफा वातावरण, व्यवस्थित फूलबारी तथा हरियालीले सबैको मन लोभ्याउने दृश्य देख्न सकिन्छ। विभिन्न प्रकारका फूल तथा बिरुवाले सजाइएको परिसरले प्रहरी कार्यालयलाई अझ सुन्दर र व्यवस्थित बनाएको छ। यसले सेवाग्राहीलाई सहज, शान्त र सकारात्मक अनुभूति दिलाउने गरेको स्थानीयहरूको भनाइ छ।

इलाका प्रहरी कार्यालयको एक छेउमा रहेको भगवती मन्दिरले यस क्षेत्रको धार्मिक महत्वलाई समेत झल्काएको छ। मन्दिरको उपस्थितिले कार्यालय परिसरमा आध्यात्मिक तथा शान्त वातावरण थपिएको देखिन्छ। दैनिक रूपमा दर्शन गर्न आउने भक्तजन तथा प्रहरी कर्मचारीबीच पनि मन्दिरले सकारात्मक वातावरण निर्माण गरेको स्थानीयहरू बताउँछन्।

सुरक्षा सेवा मात्र नभई स्वच्छ र अनुशासित कार्य वातावरण निर्माणमा समेत उदाहरणीय बनेको इलाका प्रहरी कार्यालय बलबाले अन्य सरकारी कार्यालयलाई पनि सरसफाइ र वातावरण संरक्षणमा प्रेरणा दिन सक्ने देखिन्छ। स्थानीयवासीहरूले यस्ता सकारात्मक अभ्यासलाई निरन्तरता दिन आग्रह गर्दै प्रहरी प्रशासनको प्रशंसा गरेका छन्।