महोत्तरी , मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले शनिबार महोत्तरीको गौशाला नगरपालिका–११, कालीपुरस्थित प्रसिद्ध शनिदेव मन्दिरमा पुगेर विशेष पूजा–अर्चना तथा दर्शन गरेका छन्। शनिबार शनिदेवको विशेष पूजा हुने दिन भएकाले मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मन्दिर पुगेका गृहमन्त्री महतोलाई मन्दिर व्यवस्थापन समिति, पुजारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत तथा सम्मान गरेका थिए। पूजा–अर्चनापछि मन्दिरका मुख्य पुजारीले गृहमन्त्री महतोलाई शनिदेव मन्दिरको मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए।

पूजा–अर्चनाका क्रममा गृहमन्त्री महतोले देश तथा मधेश प्रदेशमा शान्ति, सुशासन, समृद्धि र नागरिकको सुख–समृद्धिको कामना गरेका थिए। मन्दिरमा उपस्थित श्रद्धालुहरूसँग उनले भेटघाट गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरेका थिए।

स्थानीय स्रोतका अनुसार गृहमन्त्रीको आगमनलाई लक्षित गरी मन्दिर परिसरमा विशेष स्वागतको व्यवस्था गरिएको थियो। स्थानीयवासीले फूलमाला तथा खादा ओढाएर गृहमन्त्रीको सम्मान गरेका थिए। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, धार्मिक अगुवा तथा सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

गौशाला नगरपालिका–११ को कालीपुरस्थित शनिदेव मन्दिर धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। विशेषगरी प्रत्येक शनिबार यहाँ महोत्तरीसहित धनुषा, सर्लाही र आसपासका जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू दर्शन तथा पूजा–अर्चनाका लागि आउने गर्छन्। यस मन्दिरले धार्मिक पर्यटनको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयवासी बताउँछन्।