महोत्तरीको मटिहानीस्थित छोटी भन्सार कार्यालयमा सशस्त्र प्रहरीको सक्रिय निगरानी र सुरक्षा व्यवस्थाका कारण राजस्व संकलन उत्साहजनक रूपमा भइरहेको छ।

कार्यालयका भन्सार कर्मचारी थिरराज दाहालका अनुसार छोटी भन्सार कार्यालयबाट प्रत्येक महिनामा २ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भइरहेको छ। उहाँले सशस्त्र प्रहरीको प्रभावकारी परिचालन तथा सीमा क्षेत्रमा भइरहेको निगरानीले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको बताउनुभयो।

तर, उहाँका अनुसार भारत–नेपाल सीमाअन्तर्गत मधबापुर–मटिहानी नाकामा सुरक्षा जाँच र कडाइ बढाइएकाले आगामी दिनमा मटिहानी छोटी भन्सारको राजस्व संकलनमा केही कमी आउन सक्ने सम्भावना रहेको छ। सीमा नाकामा हुने आवतजावत र आयात–निर्यात गतिविधिमा परिवर्तन आए त्यसको प्रत्यक्ष असर राजस्वमा पर्ने उहाँको भनाइ छ।

भन्सार प्रशासनले प्रभावकारी सीमा व्यवस्थापन, कानुनी व्यापार प्रवर्द्धन तथा राजस्व चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।