जलेश्वर। मिथिलाको बहुचर्चित १५ दिने माध्यमिक परिक्रमा शुक्रबार बिहान जलेश्वर आइपुग्दा स्थानीयवासीले श्री किशोरीजीको डोलालाई भव्य रूपमा स्वागत गरेका छन्।

शुक्रबार रात्रि विश्रामका लागि जलेश्वर पुगेका साधु–सन्त, महन्थ र गृहस्थसहितका परिक्रमावासीलाई परशुराम साह नेतृत्वको मिथिला परिक्रमा धर्मसंस्थाको अगुवाइमा वैण्डबाजा र सहनाईसहित स्वागत गरिएको हो। स्थानीय युवाहरूले जलेश्वरस्थित भार्गवसर कुट्टी अगाडि पुगेर फूलमाला र बाजागाजासहित श्रद्धापूर्वक स्वागत गरे।

प्रत्येक वर्षझैँ यस वर्ष पनि मटिहानी–जलेश्वर सडकखण्डअन्तर्गत पर्ने भार्गवसर कुट्टीमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रशासनिक निकायका प्रमुख, स्थानीय युवा, महिला तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा परिक्रमावासीलाई स्वागत गरिएको थियो।

परिक्रमावासीहरूको सहजताका लागि आवास, भोजन तथा आकस्मिक उपचारको व्यवस्था संस्थागत र निजी स्तरबाट मिलाइएको छ। मेला अवधिभर तीन सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ।

जलेश्वरमा आयोजित मेलामा साधु–सन्त तथा नाङ्गाबाबाहरूको क्रियाकलाप अवलोकन गर्न ठूलो भीड लागेको छ। मेलामा सहभागीहरू जलेश्वर आसपासका गाउँहरूका साथै भारतको विहार राज्यका सितामढी, सुरसण्ड, मधवापुरलगायत स्थानबाट समेत आएका छन्।

मटिहानीबाट जलेश्वर आउने क्रममा जलेश्वर नगरपालिका–४ सुगा गाउँमा पनि स्थानीय संघसंस्थाले परिक्रमावासीलाई स्वागत गरेका थिए।
धर्मयात्रा धनुषाको कचुरीमठबाट मिथिला विहारी तथा अग्निकुण्डबाट किशोरीजीको डोलासहित जानकी मन्दिर हुँदै प्रारम्भ भई हनुमानगढी, कल्याणेश्वर, फुलहर हुँदै मटिहानी पुगेको थियो। मटिहानीमा रात्रि विश्रामपछि लस्कर जलेश्वर आइपुगेको हो।

जलेश्वरमा विश्राम पश्चात शनिबार परिक्रमा महोत्तरीको मडैतर्फ प्रस्थान गर्नेछ। त्यसपछि ध्रुवकुण्ड, कन्चनवन, धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर फागुन पूर्णिमाका दिन जनकपुर फर्की अन्तगृह परिक्रमा सम्पन्न हुनेछ।

१८औँ शताब्दीदेखि सञ्चालन हुँदै आएको यस माध्यमिक परिक्रमामा नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ। भारतका अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामलगायत स्थानका साधु–सन्तहरू पनि विशेष रूपमा सहभागी हुने गरेका छन्।

फागुन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगेर होली खेलेर फागुन पूर्णिमाका दिन समापन हुने परम्परा रहेको छ। सहभागीहरूको विश्वास अनुसार यस परिक्रमामा भाग लिनुले मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक मान्यता छ।

नेपाल–भारतका साधु, सन्त, महन्थसहित लाखौं श्रद्धालुको सहभागिताले मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व बोकेको छ।