महोत्तरी, जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सेवाग्राहीलाई सहज, सुलभ तथा पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले बिचौलियाविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। कार्यालय परिसर तथा सेवा प्रवाह प्रक्रियामा बिचौलियाको हस्तक्षेप अन्त्य गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउने नीति अवलम्बन गरिएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयले “सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध” भन्ने नारासहित सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न कदमहरू अघि बढाएको छ। यसअन्तर्गत कार्यालयमा आउने नागरिकले कुनै पनि प्रकारको सिफारिस, निवेदन, प्रमाणपत्र, उजुरी दर्ता तथा अन्य सेवा प्राप्त गर्न बिचौलियाको सहारा लिनुपर्ने अवस्था अन्त्य गर्ने प्रयास गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार सरु मगरका अनुसार सेवाग्राहीले आफ्ना कामका लागि अनावश्यक रूपमा रकम खर्च गर्नुपर्ने, झन्झट व्यहोर्नुपर्ने तथा बिचौलियाबाट ठगिने सम्भावनालाई न्यूनीकरण गर्न यो अभियान सञ्चालन गरिएको हो। उनले प्रहरी कार्यालयले नागरिकलाई प्रत्यक्ष रूपमा सेवा दिने व्यवस्था मिलाएको र कुनै पनि व्यक्तिले सेवाको नाममा रकम मागे वा बिचौलियाको भूमिका निर्वाह गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

एसपी मगरले नागरिकलाई कुनै पनि सेवा लिन कार्यालयमा सिधै सम्पर्क गर्न आग्रह गर्दै सेवाप्रवाह सम्बन्धी जानकारी आवश्यक परे सम्बन्धित शाखा वा प्रहरी कर्मचारीसँग सोधपुछ गर्न सकिने बताए। उनले प्रहरी संगठनलाई नागरिकमैत्री, जवाफदेही र पारदर्शी बनाउने अभियानअन्तर्गत बिचौलियामुक्त सेवा प्रणाली लागू गरिएको स्पष्ट पारे।

स्थानीय नागरिकहरूले पनि प्रहरी कार्यालयको यो कदमको स्वागत गरेका छन्। उनीहरूले बिचौलियाको प्रभाव हटेपछि सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने, अनावश्यक खर्च बच्ने तथा सरकारी कार्यालयप्रति नागरिकको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।