जलेश्वर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, सपही धनुषाको आयोजनामा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ स्थित नेपाल पत्रकार महासङ्घको सभा हलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण ऐन, २०४९ तथा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका सचिव रामनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमाको दूधको महत्व, शिशुको स्वास्थ्यमा स्तनपानको भूमिका तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी गराइएको थियो।

कार्यक्रममा जलेश्वर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामलाला ठाकुर, प्रतिभा सिंह, जिल्ला अदालत महोत्तरीका इजलास अधिकृत आर्या निरौला, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मदेखि नै आमाको दूध अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्तनपानलाई प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री–वितरणलाई ऐनले नियमन गरेको विषयमा समेत जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागीहरूले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।