जनकपुरधाम, धनुषा — जनकपुर उपमहानगरपालिका–४ मा अवस्थित पशुसेवा तालिम केन्द्रमा सात दिने कृषकस्तरको व्यावसायिक गाई/भैंसी पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पशुसेवा तालिम केन्द्र जनकपुरधाम, धनुषा (मधेश प्रदेश) को आयोजनामा सम्पन्न उक्त तालिमको अध्यक्षता केन्द्रका निमित्त प्रमुख श्री जित नारायण भगतले गरेका थिए। तालिममा कुल ३० जना कृषकहरूको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य कृषकहरूलाई व्यावसायिक पशुपालन सम्बन्धी ज्ञान, सीप र प्रविधिमा दक्ष बनाउँदै उनीहरूलाई आत्मनिर्भर बनाउनु रहेको तालिम आयोजकले जनाएका छन्। तालिम अवधिभर सहभागी कृषकहरूले गाई तथा भैंसी पालनका आधुनिक तरिका, खोर व्यवस्थापन, पोषण तथा आहार व्यवस्थापन, रोग पहिचान र उपचार, दुग्ध उत्पादन तथा बजार व्यवस्थापन लगायतका विषयमा प्राविधिक प्रशिक्षण लिएका थिए।

तालिमले स्थानीयस्तरमा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने र कृषकहरूको आर्थिक स्तर उकास्नमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।