महोत्तरीको जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाभित्र सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

जलेश्वर नगरपालिका सभा कक्षमा नगर प्रमुख सुरेश साह सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने विषयमा समीक्षा गरिएको थियो।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा प्रमुख संजय कुमार शर्मा, जनस्वास्थ्य अधिकृत एवं कार्यक्रम सञ्चालक रामलाला ठाकुर, स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत रामबाबु यादव, संजय कुमार सिंह, पुष्पा कुमारी राय, जनस्वास्थ्य अधिकृत अरुण कुमार साह लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, जलेश्वर नगरपालिकाका १२ वटै वडामा रहेका सबै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका सेवा, खोप कार्यक्रम, मातृ तथा बाल स्वास्थ्य, रोग नियन्त्रण लगायतका स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रगति र प्रभावकारिताबारे छलफल गरिएको जनाइएको छ।