धनुषा — डिभिजन वन कार्यालय धनुषाको आयोजनामा, नेपाल पत्रकार महासंघ धनुषाको समन्वय तथा चुरे–नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको सहजीकरणमा धनुषाको ढल्केबरस्थित कोमल होटलको सभाहलमा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।

वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वन संरक्षण, वन्यजन्तु व्यवस्थापन, जैविक विविधता संरक्षण तथा चुरे क्षेत्रको दिगो व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा वन क्षेत्रमाथि बढ्दो अतिक्रमण, वन्यजन्तुको संरक्षण, अवैध कटानी तथा चोरी–सिकारी नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्ने उपाय तथा संरक्षण अभियानमा सञ्चारमाध्यमको भूमिकाबारे विशेष जोड दिइएको थियो।

प्रमुख अतिथि मन्त्री चौधरीले वन र वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै वन सम्पदाको दिगो उपयोगसँगै भावी पुस्ताका लागि प्राकृतिक स्रोतको संरक्षण गर्न सबै निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताए। उनले वन संरक्षणका सरकारी कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, सरोकारवाला संस्था र सञ्चारमाध्यमको सक्रिय सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, डिभिजन वन कार्यालयका वन अधिकृत, विभिन्न सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।

गोष्ठीमा सहभागीहरूले वन तथा वातावरण संरक्षणका चुनौती, समाधानका उपाय तथा चुरे क्षेत्रको संरक्षणका लागि अवलम्बन गर्नुपर्ने नीतिगत तथा व्यवहारिक पक्षबारे समेत आफ्नो धारणा राखेका थिए। कार्यक्रमले वन तथा वन्यजन्तु व्यवस्थापनमा सम्बन्धित निकाय र सञ्चार क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।